४ साउन, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकाले एस ई ई परीक्षामा शतप्रतिशत उत्तिर्ण गराउने शिक्षकहरुलाई सम्मान गरेको छ। पालिकाले आफ्नो पालिका भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयबाट एस ई ई परीक्षा २०८० मा सहभागी भई बिषयगत रुपमा शत् प्रतिशत उत्तिर्ण गराउन सफल भएका शिक्षक तथा उत्कृष्ट जिपिए लिएर उत्तिर्ण बिद्यार्थीहरुलाई सम्मान गरेको हो।
शिक्षक तथा बिद्यार्थीहरुलाई सम्मान गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले शिक्षाले सभ्य समाज निर्माणका लागि सदैव सकारात्मक रुपमा निर्देशित गर्ने बताए। बिद्यालय तहको शिक्षालाई राम्रो बनाउन कुनै एक पक्षको जोडवलले मात्र सम्भव नहुने भएकोले शिक्षक, बिद्यार्थी। अभिभावक र सरोकारवालाहरु बिचको सहसम्बन्ध अनिवार्य रहने अध्यक्ष ढकालले बताए।
यसैगरी उपाध्यक्ष मौसमी थापा मगरले आगामी दिनमा बिद्यालयको शैक्षिक स्तरलाई राम्रो बनाउन समुदायका हरेक पक्षहरुको भुमिका र सहकार्य अनिवार्य हुने उल्लेख गरे। बिद्यालयको नतिजा कमजोर हुनुमा कहा कसको कति कमजोरी छ भन्ने कुराको सुक्ष्मढंगले केलाउन नसके शिक्षामा कुनै परिवर्तन नआउने भन्दै जसले जे जति कराए पनि काग कराउदै जान्छ पिना सुक्दै जान्छ भन्ने कुराको चरितार्थ हुने उपाध्यक्ष थापा मगरले बताए।
यस्तै कार्यपालिका सदस्य कुमारी घर्तिले जहाँ जहाँ महिलाहरुको नेतृत्व छ त्यहाँ त्यहाँ नेतृत्व क्षमता अव्वल भएको उल्लेख गरिन। शैक्षिक संस्थाहरुमा पनि महिलाहरुले नेतृत्व गरेको बिद्यालयहरुमा सकारात्म परिर्वतन देखा परेको कार्यपालिका सदस्य घर्तिले बताइन।
कार्यक्रममा कार्यपालिका सदस्य तथा सामाजिक बिकास समितिका संयोजक चित्रलाल तुलाचनले देशको भविष्यका कर्णधार भनिएका बालबालिकाहरुले पढ्ने बिद्यालयक्षेत्रको सुधार नगरेसम्म उत्कृष्ट नतिजाको आश गर्नु ब्यर्थ हुने उल्लेख गरे। आफु बाहिर हिड्दा पनि एसी र कोठा भित्र बस्दा पनि एसीमा बस्ने तर बिद्यार्थीहरुले पसिना चुहाएर पंखाविहिन कक्षा कोठामा बसेर कस्तो शिक्षा ग्रहण गर्छन र उत्कृष्ट नतिजा ल्याउछन भन्दै तुलाचनले प्रश्न गरे। जवसम्म बिद्यालयमा शिक्षक रिक्त हुँदा राम्रो शिक्षकको छनौट गर्न पाउदैनन, सरुवा, बढुवा र नियुक्तीमा पैसाको लेनदेनको बिकृत संस्कारको अन्त्य हुदैन तवसम्म शिक्षामा अपेक्षाकृत नतिजाको कुनै कल्पना गर्न नसकिने कार्यपालिका सदस्य तथा प्रवक्ता चित्र तुलाचनले जिकिर गरे।
कार्यक्रममा वडा अध्यक्ष हरिनारायण थारु, शिक्षा समितिका सदस्य लेखनाथ पौडेल, सम्मानित शिक्षकहरु सीता लोहनी, दुर्गा प्रसाद शर्मा, बिधर्थी प्रभाव आचार्य, लगायतले कञ्चनको शिक्षालाई सुधार गर्न बिषेश योजनाको निर्माण गर्न आवस्यक रहेको र परम्परागत शिक्षण विधि र प्रशासनले हरेक बर्ष नतिजामाथी टिप्पणी भोगिरहनु पर्ने बताएका थिए।
कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षता, रोजगार संयोजक ईश्वरी ज्ञवालीको संचालन तथा शिक्षा शाखा प्रमुख रमेश भूसालको सहजिकरणमा भएको कार्यक्रममा एस ई ई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल जनज्योति माध्यमिक बिद्यालय र शत्प्रतिशत बिद्यार्थी उत्तिर्ण गराउन सफल बिद्यालय सनमोडेल ईङ्गलिस बोर्डिङ्ग स्कुललाई समेत सम्मान गरिएको थियो।
कञ्चन गाउँपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सागर गौतम, वडा अध्यक्ष तथा शिक्षा समितिका पदाधिकारी, बिद्यालयका प्रधानाध्यापक, बिद्यार्थी, शिक्षक, बिद्यालय ब्यबस्थापन समितिका पदधिकारी तथा अभिभावकहरुको सहभागिता रहेको थियो।