२७ जेठ, कञ्चन
रुपन्देहीको कञ्चनमा महिलाहरुलाई उद्यमशिल बनाउने उद्धेश्यका साथ धोएर पुनः प्रयोग गर्न मिल्ने वातावरणमैत्री सेनेटरी प्याड बनाउने तालिम आइतवार सम्पन्न भएको छ। १५ दिनसम्म संचालन भएको उक्त तालिममा सिलाई कटाई सम्बन्धी आधारभूत तालिम लिई ब्यबसाय गर्दै आइरहेका कञ्चनका १५ जना महिलाहरुलाई उक्त तालिम दिइएको थियो।
तालिमको समापन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले "समुन्न कञ्चन, खुशी कञ्चनवासी" भन्ने पालिकाको परिकल्पनालाई सार्थक बनाउन पालिकाले चालु आ.व.को बार्षिक नीति कार्यक्रम तथा बजेटमा एक महिला समूह एक उद्यम भन्ने नीति अख्तियार गरेको बताउनु भयो। महिलाहरुलाई सिप सिकाएरमात्र पालिकाको योजना र योजना अनुसार गरिएको खर्चको सार्थकता नदेखिने भएकोले उद्यममै आफुलाई समर्पित गराएर स्वरोजगार बन्छु भन्ने कवोल गराएर तालिम सञ्चालन गरिएको अध्यक्ष ढकालले बताउनु भयो।
कञ्चन गाउँपालिकाका सामाजिक बिकास समितिका संयोजक चित्रलाल तुलाचनले जवसम्म आमाहरु शैक्षिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा सबल र सक्षम हुदैनन तवसम्म त्यो घरको अन्य सदस्यहरु समेत पछाडी पर्ने बताउनु भयो। गाउँपालिकाका प्रवक्ता समेत रहनु भएका तुलाचनले आमाहरुलाई आर्थिक रुपमा आत्म निर्भर गराउन उद्यमशिल तालिम संचालन गर्दा पालिकाको खर्च भएको र उक्त खर्चको महत्वलाई बुझेर अनि पालिकाले लिएको उद्धेश्यलाई पुुरा गर्न तालिम लिएका सबै प्रशिक्षार्थीहरुले उद्यममा परिणत गर्न बिशेष आग्रह गर्नु भयो।
सिर्जन शिल नेपालका कार्यकारी निर्देशक प्रतिमा शर्माले धोएर पुनः प्रयोग गर्न मिल्ने वातावरण मैत्री सेनेटरी प्याडको बजारमा निकै धेरै माग भएको र त्यसको आपुर्तिको केही अंश कञ्चनमा तालिम लिएर दक्ष भएका महिलाहरुबाट पुर्ति हुनेमा बिश्वास ब्यक्त गर्नु भयो। बजारमा पाइने सेनटरी प्याडले वातावरणलाई प्रदुषण गराउने, लामो खर्चिलो र धेरै समय प्रयोग गर्दा संक्रमण हुनै सम्भावना अत्याधिक हुने भएकोले धोएर पुनः प्रयोग गर्न मिल्ने वातावरण मैत्री सेनेटरी प्याडको प्रयोग स्वस्थकर हुने, कम खर्चिलो र वातावरणमैत्री हुने कार्यकारी निर्देशक प्रतिमा शर्माले बताउनु भयो।
कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट लालमाया पुन बुढा मगरले "म केही गरेर आत्मनिर्भर हुनका लागि उद्यमतर्फ आफुलाई परिणत गर्छु" भनेर सोंच भएका तर आर्थिकका कारणले सिप सिक्न नपाएका र सिलाई मेसिन समेत ब्यबस्थापन गर्न नसक्ने महिलाहरुलाई निःशुल्क रुपमा उपलब्ध गराएको १५ दिनको तालिमले उत्साह बढेको अनुभव बताउनु भयो।
यसैगरी कार्यक्रमको अध्यक्षता गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले औपचारिकता पुरा गर्न तालिमका लागि तालिम संचालन गरेको नभई उपलब्धीमा आधारित धोएर पुनः प्रयोग गर्न मिल्ने वातावरण मैत्री सेनेटरी प्याड बनाउने तालिमलाई पालिकाले बिशेष प्राथमिकताका साथ संचालन गरिएको बताउनु भयो। तालिमलाई उपलब्धीमुलक बनाउन सहयोग गर्ने सिर्जनशिल नेपाल, प्रशिक्षक र प्रशिक्षार्थीहरुमा धन्यवाद दिदै सिकेको सिपलाई तत्काल उपयोगमा ल्याउन उपाध्यक्ष थापा मगरले आग्रह गर्नु भयो।
कञ्चन गाउँपालिकाको आयोजना तथा सिर्जन शिल नेपालको प्राविधिक सहयोगमा संचालन गरिएको तालिमको समापन कार्यक्रममा प्रशिक्षकहरुको तर्फबाट सविना पोख्रेलले समेत तालिम अवधीको समिक्षात्मक मुल्यांकन, सवल पक्ष र सम्भव्यता क्षेत्रबारे धारणा राख्नु भएको थियो।
दियो सभाहलमा यही जेठ १३ गते देखि शुरु भएको तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई उनिहरुको २५ प्रतिशत लागत सहभागिताको आधारमा प्याड सिलाउने मेसिन समेत पालिकाले उपलब्ध गराउने छ। तालिममा प्रशिक्षार्थीहरुले धोएर पुनः प्रयोग गर्न मिल्ने प्याड, किट ब्याग र किपर ब्याग सामानहरु सिलाएर तयार गरेका थिए।
कञ्चन गाउँपालिकाका सहायक महिला बिकास निरीक्षक राधा भट्टराईको संचालन भएको समापन कार्यक्रममा प्रशिक्षार्थीहरुद्वारा तयार गरिएको सामानहरु मायाको चिनोको रुपमा प्रदान गरिएको थियो भने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो।