१८ जेठ, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ४ ले वडाको तथ्यांक सार्वजनिक गरेको छ। आज सार्वजनिक गरिएको वडाको उक्त तथ्यांकमा वडाको कुल जनसंख्या ११ हजार ९ सय ९९ रहेको र १६ वटा टोलमा विभाजन गरिएको उल्लेख छ।
वडाको तथ्यांक सार्वजनिक गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले हरेक वडाले आफ्नो वडाको बार्षिक तथ्यांक संकलन गरी वडाको वास्तविक चित्र प्रस्तुत गर्न सकेको खण्डमा त्यस वडाको भौतिक, शैक्षिक, सामाजिक तथा आर्थिक बिकासका बिस्तृत योजना र बार्षिक लक्ष्य निर्धारित गर्न पालिकालाई पनि सहज हुने बताउनु भयो। वडाको समुचित बिकास योजना तयार गर्न वडा भित्र रहेको बिभिन्न क्षेत्र र स्थानहरुको वास्तविक पहिचान र त्यसको सम्भाव्यताबारे अध्ययन गर्नु हरेक जिम्मेवार नागरिकको कर्तव्य रहेको बताउदै अव पालिकाबाट संचालन हुने योजनाहरु उपभोक्ता समितिबाट नभई टोल विकास संस्थाहरुमार्फत संचालन हुने भएकोले अव हरेक टोल बिकास संस्थाहरुको संस्थागत बिकास हुन आवस्यक रहेको अध्यक्ष ढकालले बताउनु भयो।
यसैगरी कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले वडावासीको सकृयता, चासो र जनप्रतिनीधि र कर्मचारीहरुको नियमित अनुगमन र योजनाहरुको सही कार्यान्वयन भएकै कारण रुपन्देही जिल्लामा सबैभन्दा कम बेरुजु भएको स्थानीय तह बन्न सफल भएको बताउनु भयो। स्थानीय तहको अभिन्न अंग र नागरिकसंग सिधै सम्पर्क र पहुँचमा रहेका टोल बिकास संस्थाहरुलाई आगामी वर्षमा ब्यबस्थित रुपमा अगाडी बढाए स्थानीय तह र नागरिकहरु बिच अझ नजिकको सम्बन्ध कायम गर्ने गराउने संस्थाको रुपमा बिकास गर्न टोल बिकास संचालन तथा नियमन सम्बन्धी कार्यविधिहरुको थप अध्ययन र पुनःमुल्यांकन गरिने प्रमुख प्रशासकिय अधिकृत गौतमले जानकारी दिनु भयो।
कार्यक्रममा टोल बिकास संस्थाहरुको प्रतिनीधित्व गर्दै थकालीचोक टोल बिकास संस्था अध्यक्ष नन्द बहादुर खडकाथोकी र शिवालय टोल बिकास संस्थाका भुपेन्द्र आचार्यले टोल बिकास संस्थाहरु स्थानीय तहको अभिन्न अंग र स्थानीय तह र नागरिक बिचको सम्बन्ध स्थापित गर्ने संस्थाको रुपमा बिकास गर्ने हो भने स्थानीय तहले हरेक टोल बिकास संस्थाहरुको क्षमता अभिबृद्धि तथा प्रशासनिक कार्य संचालन गर्नका लागि आवस्यक बजेट ब्यबस्थापन गरिनु पर्ने माग राख्नु भएको थियो। हामीले टोललाई सफा र बयबस्थित बनाउन चाहान्छौ तर टोलमा उत्सर्जित हुने फोहोर र ढल निकासको उचित ब्यबस्थापन गर्नमा स्थानीय तहको बिशेष ध्यान दिन थकालीचोक टोल बिकास संस्था अध्यक्ष नन्द बहादुर खडकाथोकीले आग्रह गर्नु भएको थियो।
कार्यक्रमको अध्यक्षता गर्दै कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले वडाको समुचित बिकास गर्न टोल बिकास संस्थाको अहम भुमिका हुने भएकोले टोल बिकास संस्थाका पदाधिकारीहरुले आफ्नो टोल भित्र भएका समस्या, योजना र आवस्यकताहरुबारे नियमिति रुपमा वडामा आएर वडा नजिकको जनप्रतिनीधिहरु मार्फत आवस्यक सुझाव दिन आग्रह गर्नु भयो। जनप्रतिनीधि र कर्मचारीहरुको एकल प्रयासले कुनै क्षेत्रको बिकास सम्भव नहुने भएकोले जनप्रतिनीधि, कर्मचारी र टोलवासीहरुको आपसी समन्वय, सहकार्य र नियमित छलफल आवस्यक हुने वडा अध्यक्ष खत्रीले बताउनु भयो।
वडा सचिव चक्रपाणी पौडेलको संचालन तथा कार्यपालिका सदस्य सुशिला थापाको स्वागतमा भएको कार्यक्रम कञ्चन ४ पुर्तिघाट टोल स्थित बगिया बजारमा रहेको दलित महिला संघको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा वडाका टोल बिकास संस्थाका अध्यक्ष तथा प्रतिनीधि, वडागत बिभिन्न राजनैतिक दलहरुका प्रतिनीधि लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा वडाको तथ्यांक तयार गर्न सहयोग गर्ने टोल बिकास संस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुलाई वडाले सम्मान समेत गरेको थियो।