प्रणेता
न्गुगी वा थ्योंगो आफ्ना लेख, संस्मरण, कथा, उपन्यास, नाटकमार्फत आफ्नो देश केन्यामा उपनिवेशवाद र साम्राज्यवाद विरोधी जनचेतना प्रसार गर्ने लेखक हुन् ।
आफ्ना रचनाका कारण उनी धेरै पटक गिरफ्तारीमा परे । जेलबाट छुटेपछि उनले आफ्नो देश छोड्नु प¥यो । त्यसपछि उनले कहिल्यै अङ्ग्रेजीमा नलेख्ने निर्णय गरे ।
सन् १९७७ पछि लेखकका जति पनि पुस्तक प्रकाशित भए, ती सबै मूलतः मातृभाषा ‘गिकुयू’ मै लेखिएका छन् । ती रचना अङ्ग्रेजीमा अनुवाद भने भएका छन् ।
उनै थ्योंगोको सन् १९७७ मा लेखिएको उपन्यास ‘पेटल्स अफ ब्लड’ लाई भारतीय लेखक तथा पत्रकार आनन्दस्वरूप वर्माले ‘खुन कि पंखुडिया’ नाममा हिन्दीमा अनुवाद गरेका छन् । मैले त्यही हिन्दी अनुवाद पढेर यहाँ केही लेखिरहेको छु ।
अनुवादक वर्माले थ्योंगोको यो ४३८ पृष्ठको बहुचर्चित उपन्यासलाई महाकाव्यसरह भनेका छन् । साम्राज्यवादविरोधी साहित्यमा शीर्ष स्थान प्राप्त यो वैचारिक र कलात्मकताको दृष्टिले सम्पन्न कृति हो ।
चार खण्डमा विभाजित उपन्यासमा अफ्रिकी द्वीपको कुनै गाउँलाई उतारिएको छ । अनिकाल र हाहाकारको पर्यायवाची त्यो गाउँ हो, ‘इलमोरोग’ ।
केन्या गणराज्यको चिरी जिल्लाभित्र पर्ने इलमोरोग डिभिजन । जहाँबाट नाटकीय (वास्तविक तर नाटक लाग्ने) दृश्यको सुरुवात हुन्छ । त्यहाँ सधैँभरि माटोले बनेका घर र झुपडी बस्ती मात्रै थिएनन् । जहाँ वृद्ध पुरुष, महिला र केटाकेटी मात्रै रहेका होऊन् । बिच बिचमा घुमन्ते फिरन्ते र गोठालाहरू आउजाउ गर्ने थलोमात्रै पनि थिएन त्यो गाउँ ।
कुनै जमानामा त्यो इलाकाको पनि आफ्नै शान थियो । त्यहाँ केही यस्ता गाउँ थिए, जसमा हट्टाकट्टा किसानकोे विशाल आवादी थियो । ती किसानले प्रकृतिप्रदत्त जङ्गलको संरक्षण गरेर घना बनाएका थिए । आफ्ना कर्मठ पाखुरी र हत्केलाको भरमा त्यहाँको माटोलाई उब्जाउशील बनाएर हरेक किसिमका अन्नबाली लगाएका थिए ।
उपन्यासले इलमोरोगवासीको विगतको बाँच्ने शैलीलाई सरसर्ती सम्झाउँछ । कसरी त्यहाँका मानिस मिलिजुली पसिना बगाउँथे र जङ्गल फाँडेर खेतीयोग्य जमिन तयार गर्थे भन्नेबारे बताउँछ । ती दिनहरूमा मरेको सिनो लुछ्न पाउने आशमा चिलहरू मडारिएको देख्न पाइँदैनथ्यो, न त मेहेनतकश जनताको रगतको भरमा पालिने कथित बुद्धिमान ‘कीराहरू’ नै हुन्थे । यी सबै कुरा आज इलमोरोगका जनताले गाउने गीतमा सुनिन्छन् ।
किनकि, अब यथार्थमा त्यो धर्ती हिजोको जस्तै रहेन । सुदूर विगतको इलमोरोगमा वृद्धवृद्धा र बालकहरूलाई सामूहिक श्रममा छुट मिल्ने गथ्र्यो । मौलिक ज्ञान र सोझोपनका बाहक थिए, त्यहाँका मानिस । उनीहरूसँग यस्तो कमालको बुद्धि र जादुयी औँलाहरू थिए कि उनीहरूले जमिन छुनासाथ भरपुर उब्जनी हुन्थ्यो ।
ती सबै उमेरका पौरखी घरबाहिर आँगनमा रुखको छहारीमुनि बसेर सँगसँगै स्थानीय ‘जाँड’ को आनन्द उठाउँथे । केटाकेटी बडो गर्वभावले गाउँका पूर्वजको गुुणगान गाउँथे । तर आज समय यसरी बदलियो कि पुँजीवाद र साम्राज्यवादले वृद्धवृद्धा तथा बालबालिकालाई समेत सुखले खानबस्न दिएको छैन । उपन्यासले पोखेको तीतो यथार्थ यो छ कि वर्तमान व्यवस्थाले ती वृद्धवृद्धा तथा बालबालिकालाई पनि लघारेर ल्याउँछ र सस्तो अनि कठोर श्रममा कज्याउँछ । यसरी त्यो गाउँलाई गोराहरूको कर्तुतले बदलिदियो ।
लामा लामा सिङ र दूधले भरिएका थुनसितका गाईहरूको प्रशंसामा गीत गाउने मान्छे अब त्यहाँ रहेनन् । गाईको गोबर, पिसाब अनि तिनका भरिएका थुनबाट अलग रहेर र गोरुको गलामा बाँधिएको घण्टीको आवाजदेखि निकै टाढा रहेर जीवन कसरी गुजार्न सकिएला भन्ने मानिस पनि सायदै भेटिएलान्, त्यहाँ ।
‘न्देमी’ इलमोरोगको पूर्वज थिए । उनले जङ्गल फाँडेर बस्नलायक बस्तीको सुरुवात गरेका थिए । थुप्रै सन्तान दरसन्तानको धनी न्देमी यस दुनियाँबाट गइसकेपछि पनि एक समयसम्म त इलमोरोगको समृद्धि जारी नै रह्यो । त्यो गाउँ व्यापारको केन्द्र बन्यो । गुलुदेखि उकम्बानीसम्म अनि कन्लेजिन जनताको भूमिभन्दा पनि धेरै टाढासम्म यस बजारको ख्याति फैलिन थाल्यो ।
समग्र देशका मानिस अनेकानेक सामान लिई आउँथे अनि आफ्नो आवश्यकताका चिजहरू लैजान्थे । छिट्टै नै त्यहाँ किसान आवादीका साथमा किसिम किसिमका शिल्पीहरूको बस्ती पनि बन्यो । त्यहाँका मानिसमा रहेको धातुसम्बन्धी ज्ञानबारेको खबर अरब र पोर्चुगल (दक्षिण–पश्चिमी युरोप) का लुटेराहरूको कानमा समेत पुग्यो । यो इलमोरोग ‘इलमोरोग’ नै रहिरहन नपाउने सङ्केतको सुरुवात थियो ।
सबैभन्दा पहिले त्यहाँ एउटा युरोपेली विदेशी पुग्यो । उसले आफ्नो ‘तम्बु’ गाड्यो । त्यसपछि उसले मैदानी इलाका पार गरेर जानुपर्ने गाउँलेहरूसँग अनाज आदिको माग राख्यो े। सोझा गाउँलेहरूले नाइँ भन्न जानेनन् । मकै, सिमी, आलु, तरुल र पिँडालु दिए । त्यसको सट्टामा त्यो विदेशीबाट केही कपडा र मोतीका मालाहरू लिए ।
केही दिनपछि दोस्रो विदेशी आयो । उसले पनि गाउँवासीसँग आफ्नो यात्राका निम्ति जरुरी सामानको माग ग¥यो र युगान्डाको राजदरबारसम्म पुग्न एउटा पथप्रदर्शकको पनि चाह राख्यो ।
पछि युरोपका अन्य केही गोराहरू त्यहाँ आइछोडे र आफ्नो तम्बु गाडे । यसपल्ट उनीहरू त्यो पहाडी गाउँमा अधिक समयसम्म जमिरहे । तिनले पनि गाउँलेबाट लिएको अनाजको सट्टामा कपडा नै दिए र गाउँवासीबाट सुन र हात्तीका दाँतको बारेमा जानकारी बटुलिरहे ।
मुनिरा त्यो गाउँको त्यस्तो पात्र हो, जसको मन र हात फोहोर लाग्ने काममा जाँदैन । बरु उसलाई ‘धातुको घोडा’ जस्तै विदेशीका हर चिज सुन्दर लाग्न थाल्छ ।

यससँगै उसका चाहनाहरू पनि दैनन्दिन बढ्दै थिए । मुनिरा आफूलाई गोराहरूको हतियार अनि खाद्य सामग्री ढुवानी गर्ने टुकडीमा भर्ती हुन आवेदन पेश गर्छ । इलमोरोगका अरू मानिस पनि त्यस कामका लागि नाम लेखाउँछन् । अब त्यो गाउँ भर्तीको केन्द्र बन्न थाल्यो अनि अधिकांश तरुणले हातमा बन्दुक लिने र गोराहरूको तर्फबाट लडाइँमा भाग लिनका लागि अर्को देश जाने परम्परा सुरु भयो ।
उपन्यासमा अफ्रिकी मूलका नागरिक जर्मन सेनासँग मुकाबिला गर्नकै लागि टाँगानिकाको सीमासम्म पुगेको इतिहास स्मरण गराइएको छ ।
लेखक हैरानीपूर्ण भावमा त्यहाँका मानिसले काला जातिलाई नै मार्न सुरु गरेको कुरा व्यक्त गर्छन् । तर, त्यो कुरा मूलवासीहरूले बुझ्नै सकेनन् न त त्यो लडाइँको उद्देश्य त्यहाँका मूलवासीहरूकै जमिनमा कब्जा जमाउनु थियो भन्ने नै उनीहरूले बुझ्न सके ।
मुनिरा अर्थात् गोराहरूका लागि लड्ने काला जातिको लडाकु । जब उसको गाउँ फिर्ती भयो तब ऊ भित्रैदेखि गलेको थियो ।
उसले लडाइँको मोर्चाका कथाहरू सुनाउने गथ्र्याे । ऊ जसरी नै फर्किआउने अन्य जवान पनि त्यसै गर्थे । अब आफ्नो जमिनलाई उब्जाउशील बनाउनका लागि उनीहरू कसैमा पनि रुचि थिएन ।
‘न्जुगुना’ को पनि एउटा यस्तो इच्छा छ कि ऊ आफ्नो हातमा ‘न्गोमे’ पहिरिन पाओस् र खेतीको कामलाई अलबिदा भन्न पाओस् । अनि त ऊ पनि बैँसालु र जवान ‘म्बारी’ जमिनदारहरूजस्तै देखिनेछ ।
‘ऊ आफैँसँग मनमनै भन्छ, तर, न्जुगुना को भाग्यमा यी सब कहाँ छ र !’
यसरी यी सबैमा माटो र गाउँमा काम गर्नु ‘दुःख हो’ भन्ने छाप परिसकेको थियो । बरु यिनले जति कमाउँथे, त्यसको एक हिस्सा कर तिर्नमा खर्चिनै पथ्र्यो अनि बचेखुचेको नगदलाई विदेशीहरूले बानी पारिदिएका तमाम बेकारका चिजहरूको खरिदमा लगाउँथे । बिस्तारै हालत यस्तो बन्यो कि उनीहरू तिनै खेत खलिहानमा काम गर्न थाले, जुन खेत केन्याका जनताबाट उनै गोराले खोसिलिएका थिए । फेरि तिनै मानिसलाई सडक बनाउने काममा लगाइयो ।
उपन्यासले एउटा यस्तो अफ्रिकी नागरिकको चरित्र प्रस्तुत गरेको छ, जसले आफ्नो तागत र बललाई बिर्सेर गोराहरूलाई शक्तिशाली सम्झिन्छ । उक्त पात्र दमनकारी शक्तिसँग सङ्घर्ष गरेका आफ्ना अग्रज पुस्तामध्येका एक ‘बा’ लाई नै केही थाहा नभएको ‘अबुझ’ ठह¥याउँछ। तर, ऊ आफैँ भने अङ्ग्रेजको सिपाही हो । उसको निष्कर्ष छ, ’गोराहरूको तागतपछिको रहस्य पैसा हो । यही तागतको बलमा नै उनीहरूले भारतीयमाथि २०० वर्षसम्म शासन गरे । पैसाले नै दुनियाँ नचाउँछ ।’ यो एउटा अफ्रिकीको विश्वासपूर्ण दाबी हो, ’पैसा नै समय हो, पैसा नै सुन्दरता हो र पैसा नै तागत हो ।’
पैसाले नै इङ्ल्याण्डकी राजकुमारी किन्न सकिने विश्वास छ, एक आम अफ्रिकी नागरिकमा । उसका निम्ति पैसा नै ‘स्वतन्त्रता’ हो । उसलाई यो पनि लाग्छ कि पैसाले नै सारा मानिसका निम्ति स्वतन्त्रता खरिद गर्न समर्थवान् बनिन्छ ।
उपन्यासमा उक्त पात्रले जोडतोडका साथ आफ्नी श्रीमतीलाई बताउँछ, बन्दुक र पेस्तोल अनि कालाहरूको एकताका निम्ति सपथ लिनेजस्ता आत्मघाती हर्कत गरेर गोराहरूलाई भगाउनुको सट्टा ‘काला’ जातिले यो सिक्नु जरुरी छ कि पैसा कसरी कमाउने ? पैसाको बलमा हामी अँध्यारोमा उज्यालो निम्त्याउन सक्छौँ । पैसाबाटै नै हामी आफूभित्रको डर र अन्धविश्वासबाट मुक्त हुन सक्छौँ ।’
श्रीमानको यस्तो कुरा सुनेपछि श्रीमती भन्छिन्, ‘आफ्नो मुलुकमा स्वतन्त्रताका निम्ति चलेको युद्धमा गद्दारको भूमिका निर्वाह गरेर तँ कति पैसा कमाउँछस ?’ प्रत्युत्तरमा श्रीमान् अर्थात् अङ्ग्रेजहरूको बफादार अफ्रिकी लडाकू जवाफ दिन्छ, “जङ्गलमा लुकेका स्वतन्त्रता चाख्न चाहने ‘माउ माउ विद्रोही’ (योद्धा) लाई मद्दत गरिरहिस् भने यो घरमा पनि ‘ईश्वरकै कोप’ पर्नेछ ।”
यसरी गोराहरूको स्वार्थअनुरूप काम गर्ने श्रीमानलाई आफ्नै मूलका कबिलाका निम्ति लड्ने साहस नजुुटाएकोमा ‘कायर’ नाउँ दिन्छे, ऊ । गोराहरूको पक्षमा कदम उठाउने श्रीमानको ‘माउ माउ विद्रोह’ बारे व्यक्त धारणा सुनेर ‘गद्दार’ को संज्ञा दिन किञ्चित पनि हिचकिचाउँ दिनन् । उनी मनमनै दोहो¥याउँछिन्, ‘जुन गोराहरूका लागि निष्ठापूर्वक सेवा दियो, तिनैले कुकुरको जस्तो मृत्यु उपहार नदिऊन् ¤’
काला जातिका मानिसको एउटा घरभित्रको यस्तो विवादले घृणा र आतङ्कको सृजना गर्छ अनि झुपडीमा आगो झोेसिइन्छ । क्षणभरमा बास खरानी हुन्छ । आखिर तम्बु गाडेर बस्न आएका गोराहरूले दम्पती, परिवार एवम् समग्र देशमै फाटो पार्ने नै यस्तै सामान्य धर्म र विचारको बिउ रोपिदिएर त हो भन्ने प्रमाण बोल्छन्, उपन्यासका पात्रहरू ।
किताबका पानाहरू पल्टाइरहँदा बेमजा लाग्ने कुरा धेरै छन् । विकास र नवनिर्माणका अनन्त सम्भावनाले भरिएको समृद्ध महाद्वीपको नागरिक आफ्नो सम्भावना चिन्दैन । तामा, सुन, हीरा, कोबाल्ट, युरेनियमदेखि लिएर कुनचाहिँ यस्तो खनिज तत्व छ जो अफ्रिकामा उपलब्ध नभएको होस् ? कुन अन्न त्यहाँ फल्दैन ? त्यही अफ्रिकामा यस्तो चरित्र भएका पात्रहरू पनि छन्, जहाँ दास व्यापार गर्ने अरबीसँग धेरै पहिले देखि नै सङ्घर्ष गरिरहेका छन् ।
’कुनै जमानामा इलमोरोगलाई एक सम्पन्न गाउँको रूपमा देख्न पाइन्थ्यो । जहाँ मानिसहरू आफ्नै पसिनामा सानदार जिन्दगी बाँचेका हुन्थे । तर, अब त्यसको पतन सुरु भइसकेको छ । युरोपेली युद्धको दौरानमा अझै ठूलो सङ्ख्यामा युवाहरू पलायन हुँदै गए भने आज जनसङख््याको ठूलो हिस्सा गाउँ छोडेर हिँड्ने क्रम चलेको छ । युवाहरू सुन्दर भविष्यको आशामा सहरतर्फ हाम्फालिरहेका थिए र छन् । कुनै बेला व्यापार र खेतीको प्रमुख केन्द्र रहेको इलमोरोग अब एक सुनसान र जर्जर इलाकाको रूपमा देखिन्छ ।’
उपन्यासकी एक वृद्ध पात्र ‘न्याकिन्या’ ले यी सबै कुराहरू बताउँछिन्, जसले हिजो र आजको इलमोरोग देखेकी छन् ।
युरोपको आधुनिकता अफ्रिका पस्नुअघि त्यो जीवन्त इलमोरोगले लोककथाको रूप लियो । युरोपेली उपनिवेशवाद विकासको नाममा प्रदूषण र विनाश लिएर जब अफ्रिका पस्यो, त्यहाँको जैविकपन र मौलिकता सबै नष्ट गरिदियो ।
युरोपले अफ्रिकी प्राकृतिक सम्पदामाथि शोषण गर्दा विरासतका रूपमा अफ्रिकीले जे–जे पाएका थिए, ती सबै हराउँदै गए । पुँजीवादी शोषण फिजिँदै गयो ।
अफ्रिकी प्रकृतिको मृत्यु भएर खडेरी निम्तिनु र त्यहाँको मौलिकता ध्वस्त हुनुमा युरोप सम्पूर्णरूपमा जिम्मेवार छ । त्यहाँका मानिसहरूको जीवनशैली धरापमा पर्नु र अफ्रिकी मुलुकमा कुरूपता बढ्नु पुँजीवादी उपनिवेशवादकै देन हो । लेखक भन्दछन्, ‘केन्याको गरिबीका लागि अन्य र अनौठो कुनै कारण नै छैन । यो यसकारण गरिब छ कि यहाँको सारा सम्पदाको उपयोग पश्चिमी जगतको तथाकथित विकासमा गरिएको छ ।’
तर गोराहरू यी सबै प्रकारका विपत्ति तथा कष्ट केन्याली कुसंस्कार, अधर्म, कुरीति र असभ्य जीविकाकै कारण निम्तिएको हो भनेजस्तो व्यवहार गर्छन् । ‘अब्दुल्लाह’ नाउँको पात्रले गाएको गीतले बताउँछ –
उनीहरू भन्छन्
अनिकाल परिरहेको छ
तर, फेरि उनीहरू नै भन्छन्
यसलाई अनिकाल नभननु
अनिकाल त तिनीहरूका लागि हो
जो इन्कार गर्छन् यशुले दिएको रोटी खान ।
जतिसुकै घर होऊन्
वा होऊन् जग्गा जमिन र सम्पत्ति
बैङ्कमा पैसा होस् वा पढाइलेखाइ
मेटिँदैन अन्तरात्माको भोक
जबसम्म खाने छैनन् मानिसहरूले
यशुले दिएको रोटी
धनी, गरिब र बालबच्चाहरूलाई हेर
कसरी धर्मराएर हिँडिरहेका छन् सडकमा
किनकि,
उनीहरूले खाएनन्
यशुले दिएको रोटी ।
यसरी हाहाकार आइलाग्नुमा गोराहरू आफ्नो उपनिवेशवादी चरित्रलाई जिम्मेवार ठान्दैनन् । बरु आत्मिक सुख र हृदयको भोक मेटाउनका निम्ति ‘यशुरूपी रोटी’ भोग गर्नुपर्छ भनिरहन्छन्, घोकाइरहन्छन् । यस्तो लाग्छ कि गीतको बोल र त्यसमा निहित इसाई धर्ममा आधारित निर्जीव सन्देशले इलमोरोगका तिर्खाएका जनताको आपत विपतको मजाक उडाइरहेको छ ।
उपन्यासमा सहर पस्नेहरू उतै भासिन्छन् । जो आफ्नो जरो टेकिएको थलो फर्किआउनुको सट्टा सोच्छन्, ’त्यो पिछडिएको, विवश अनि असहाय घना जङ्गलमा म फेरि फस्न जाऊँ ?’ यो गाउँ रित्तैे पारेर हिँडेका हरेक युवाहरूको बोली हो न कि इलमोरोगको मात्रै । यसभित्रका पात्र ‘मुनिरा’, ‘वान्जा’, ‘अब्दुल्लाह’, ‘करेगा’ आदि हामीबिचकै चरित्र हुन् ।
अकालले भरिपूर्ण र लगभग रित्तो इलमोरोगमा बचेखुचेका केटाकेटी पढाउन बाहिरबाट प्रवेश गर्ने मुनिरा जीर्ण अवस्थामा रहेको विद्यालयलाई केटाकेटी बसेर पढ्न लायकको बनाउँछ । तै पनि गाउँलेहरू शङ्काकोे दृष्टिले हेर्छन् र प्रश्न गर्छन्, ‘के देखेर आइस ? तेरो दिमाग त ठीक छ?’ उसको प्रत्युत्तर हुन्छ, ‘हामीमध्ये केही जो पढेलेखेका थियौँ स्वतन्त्रताको लडाइँ केवल साधारण मानिसहरूका लागि छोडिदियौँ । हामी बाहिर बसेर तमासा हेरिरह्यौँ । तर, अब स्वतन्त्रता मिल्यो, हामीलाई यो देखाउने मौका जुरेको छ कि हामी सधैँ किनारामा उभिँदैनौँ । सायद यही कारण हो ‘म यहाँ बसाइँ सरेँ यहीँ इलमोरोगमै ।’ अब्दुल्लाह विश्वास गर्न सक्दैन र थप्छ, ‘मलाई अझै पनि यो भरोसा छैन कि कोही यस्ता मान्छे हुन्छन्, जसलाई आफ्नो पेटको मात्रै चिन्ता हुँदैन ?’
अठोटका साथ खडेरीले आक्रान्त गाउँमा भित्रिएको मुनिरालाई गलाउन केही त्यस्ता पात्र लागिपर्छन्, जसले विद्यालयको आँगनमा हरेक बिहान बिस्ट्याएर दुर्गन्ध फैलाउँछन् । ताकि कोही बच्चा हाजिर नहोऊन् । तर, उज्यालो प्रकाश र प्रगतिको विरुद्ध उभिएका इलमोरोगका केही मान्छेहरूको हर्कतलाई झेल्ने र पवित्र कर्म गर्ने अर्थात् शिक्षक बन्ने प्रण मुनिराले गर्दछ । आखिर यस्ता पात्रहरू हाम्रो परिवेशमा पनि त छन् । जो कसैको जोश, जाँगर र निः स्वार्थ सेवाभावप्रति शङ्काको दृष्टिले हेर्छन् र असफल बनाउन तानाबाना बुन्छन् ।
इलमोरोगवासीले कानुनी परामर्श र मद्दतका लागि भेटेको एउटा वकिलले सुनाउने कुरा पनि कम रोचक छैन । ऊ अमेरिकाको सहरमा पनि गोराहरू भीख मागिरहेको र एउटी गोरी महिला केही डलरका निम्ति आफ्नो शरीर बेचिरहेको देखेको कुरा गाउँलेहरूलाई बताउँछ । अमेरिकामा वेश्यावृत्ति व्यवसायसरह रहेको पनि बताउँछ ।
डेट्रायटको एउटा फ्याक्ट्रीमा गोरा र कालाहरूसँगै काम गरेको वकिल अलिकति सही आम्दानीका लागि आफूहरू बढी समय काम गर्ने गरेको आफ्नो अनुभव पनि सुनाउँछ । शिकागो तथा अन्य सहरमा बेरोजगारहरूलाई नियालेको उसले आफैँमा चकित हुँदै सोचेको हुन्छ, ‘ऊ आफ्नो घर फिर्ता जानुपर्छ । किनकि, अब त्यहाँ कालाहरूको हातमा सत्ता आएको छ।’ फेरि अचानक ऊ सम्झिन्छ, ‘आफूहरूसमेत त्यहाँ तिनै राक्षसको सेवामा जुटेका छौँ, जस्तो अमेरिकामा हुने गथ्र्यो ।’
–क्रमश
यो आलेख अनलाइन मजदुरबाट साभार गरिएको हो।