गौरव प्रधान
साम्राज्यवादी देशहरूले विश्वका स्वतन्त्र र सार्वभौम देशमाथि आफ्नो छत्रछायामा राख्ने उहिलेदेखिको प्रयास अहिले पनि जारी छ । अङ्ग्रेजको संरक्षण नीतिको जालमा फसेर भारतीय राज्यहरू एक एक गर्दै गुमेको अनुभव नेपालका देशभक्त नायक, नेता र स्वाभिमानी नेपाली जनतासँग नभएको होइन । संसारकै स्वाधीन देशलाई आफ्नो प्रभाव पार्न लागेका साम्राज्यवादी ब्रिटिश शक्तिको आक्रमणबाट नेपाललाई जोगाएर देशको स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्न अघि बढ्नु प्रत्येक स्वाभिमानी र देशभक्त जनताको कर्तव्य हो । अङ्ग्रेजी साम्राज्यवादको उर्लँदो भेलमा नेपाललाई जोगाउन आफ्नो बुद्धि, विवेक, राजनीतिक कुशलता एवम् इमानदारीपूर्वक अघि बढ्ने एक प्रधानमन्त्री, सैनिक नायक हुन्– भीमसेन थापा । वास्तवमा उनी त्यसबेलाका नेपाली जनताका भावनाको प्रतिनिधित्व गर्ने स्वाभीमानी र देशभक्त शासक हुन् ।
देश जोगाउन, देश विकास गर्न स्वदेशी दृष्टि आवश्यक हुन्छ । अङ्ग्रेजका उपनिवेशवादी नीतिका कट्टर विरोधी भीमसेन थापा आफ्नो शक्ति एवम् पदको निम्ति कहिले पनि विदेशी शक्तिसामु नझुक्ने एक साहसी नेपाली थिए । अङ्ग्रेजले नेपाललाई उपनिवेश बनाउने साम्राज्यवादी सपना पूरा नभएरै भीमसेन थापाको विरोधमात्र होइन अनेक षड्यन्त्र गरेर बदनाम गर्न खोजेको हो । विडम्बना ¤ प्रजातन्त्र पुनः स्थापनापछिका शासक दलहरूले पद र पैसाको निम्ति गठबन्धन, सिद्धान्तहीन एकता र मर्यादाहीन निर्वाचनमा सरिक भएर आफ्नो भएको इज्जत, प्रतिष्ठा र अडान छोडेर स्वच्छ राजनीतिलाई घात गर्दै छन् । तत्कालीन समयमा पनि एक देशभक्त, इमानदार शासक भीमसेन थापाको बदनाम गर्न, पदच्युत गर्न ब्रिटिश साम्राज्य, पाँडे र दरबारिया शक्तिहरू लागेका थिए । भीमसेन थापाको इमानदारी, देशभक्ति र योग्यताबाट प्रभावित भएरै रणबहादुर शाहले भनेका थिए, “म मरि मुलुक डुब्न्या छैन, भीमसेन म¥यो भन्या मुलुक डुब्न्या छ ।”
संसारको इतिहास पल्टाएर हेर्दा देशका देशभक्त, इमानदार, राष्ट्रप्रमुख, नायक र दलका नेताहरूमाथि अनेक षड्यन्त्र भएको हामी थाहा पाउँछौँ । त्यस्ता षड्यन्त्रकै कारण कति शासकहरूलाई जनताले सत्ताबाट लेखेटे, जनविरोधी र देशविरोधी शासकहरू सत्ताच्युत भए । साम्राज्यवादविरोधी भीमसेन थापामाथि पनि अनेक षड्यन्त्र भए । उनीमाथि जस्तोसुकै षड्यन्त्र रचेर थुनामा राखे पनि शत्रुसामु झुकेर देशको माटोमा असर पर्ने कुनै काम गरेनन्, बरु मर्न तयार भए । मुख्तियार भीमसेन थापाले साम्राज्यवादी शक्तिको विरोधमा एक भई लड्न चीन, बर्मा, पर्सिया आदि राष्ट्रहरूलाई आह्वान गरेका थिए । भनिन्छ, उनी एसियाको एकतामा आवाज उठाउने नेपाली प्रधानमन्त्री हुन् । ३१ वर्षको लामो अविछिन्न देशको यात्रामा उनी नेपालको राजनीतिक आकासमा चम्केर देशलाई अङ्ग्रेज साम्राज्यबाट बचाउन अघि सरे ।
तर, प्रजातन्त्र र गणतन्त्रपछिका नेपाली शासकहरू देश जोगाउने र उपनिवेशबाट बचाउने अभियानमा कहिल्यै लागेनन् । नेपाली भूमि कालापानीबाट भारतीय सेना फर्काउनेतर्फ चासो राखेनन् । बरु देशको असंलग्न परराष्ट्र नीतिविपरीत रुस–युक्रेनको युद्धमा युक्रेन पक्ष लिएर नेपाली शासकले आफ्नै देशको परराष्ट्र नीति उल्लङ्घन गरे । शासकहरू विदेशी शक्ति राष्ट्रको कठपुतली भए । देश परनिर्भर भएर आर्थिक सङ्कट निम्तिएको छ । भीमसेन थापाले अङ्ग्रेजसित मुकाबिला गरेर देशलाई बचाए । अङ्ग्रेज र नेपालको युद्धमा उनले कहिले पनि नैतिकतालाई बन्धनमा राखेनन्† नैतिकता गुमाएनन् । उनको एउटैमात्र उद्देश्य थियो, देशभित्र अङ्ग्रेज शक्तिलाई छिर्न नदिने । साम्राज्यवादको विरोधमा सबभन्दा पहिले एसियाई एकताको निम्ति आह्वान गर्ने उनी पहिला शासक थिए । विदेशी हस्तक्षेपको विरोधमा एकताको प्रयास गर्ने उनलाई ब्रिटिश कम्पनीले किन मन पराउँथ्यो ? चन्द्रशमशेर राणाले समेत ‘एउटा भीमसेन थापा नजन्मेको भए नेपाल उहिल्यै हिँडिसक्थ्यो’ भनेका थिए ।
एक समय नेपाली पाठ्यपुस्तकमा समेत भीमसेन थापाले जेलभित्रै आत्महत्या गरेको पाठ समावेश गरिएको थियो । यसकारण, देशको विशेषता बुझ्न, देशभित्रको इतिहास थाहा पाउन स्वदेशकै विचार, स्वदेशकै विवेकको खाँचो हुन्छ । नत्र इतिहास लेखनमा त्रुटि हुन्छ र त्रुटि भएपछि नेपाली जनतामा गलत सन्देश पुग्छ । यो सन्देश चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ पुस्तकले दिएको छ । पुस्तकको छैटौँ संस्करण २०७६ (सन् २०१९) मा छापिएको थियो । यसको पहिलो संस्करण २०१३ मा नेपाल सांस्कृतिक सङ्घले छापेको थियो ।
देश भित्र र बाहिरबाट ठूलो सम्मान पाएका, इज्जत र प्रतिष्ठा कमाएका, जनताको विश्वास जितेका भीमसेन थापाको ब्रिटिश कम्पनी सरकारको उक्साइमा, पाँडेहरूबाट महारानी साम्राज्यलक्ष्मी देवीको आड भरोसामा हत्या भयो । विष प्रयोगको षड्यन्त्रपूर्वक मुद्दा लगाइयो, पक्राउ गरियो, थुनियो र पछि पदच्युत गरियो । तत्कालीन ब्रिटिश रेजिडेन्ट बायन हड्सनले पनि भए नभएका हल्ला पिटे । एकदेव वैद्यसित मिलेर साम्राज्यलक्ष्मीदेवीका ६ महिने कान्छा छोरा युवराज देवेन्द्रविक्रम शाहलाई विष प्रयोग गरी मार्ने काममा भीमसेन थापाको सल्लाह भनी दोषारोपण गरियो । त्यो साँचो थिएन । युवराज देवेन्द्र बिरामीको कारण मृत्यु भएको थियो । उनको मृत्युबाट षड्यन्त्रकारीहरूलाई राजनीतिक फाइदा लिने दाउ मिल्यो ।
भीमसेन थापालाई नाबालकको हत्या गर्न के जरुरत थियो ? नाबालक छोरा गद्दीको हकदार पनि थिएन । अङ्ग्रेज साहित्यकारहरूले महारानीलाई विष दिन सम्भव थियो, त्यो असफल भई बच्चालाई पर्न गयो भनी समेत उल्लेख गरे । तर, विष प्रयोगबारे त्यसबेलाको सरकारको आरोपमा छैन† न त महारानीको कुरा नै थियो । सरकारको आदेश पत्रमा ‘दैव इच्छा शक्तिले मरेको’ भन्ने उल्लेख थियो । त्यो आदेशपत्र जानकारीको लागि जुम्ला, गोर्खा, डोटी, सिलगढी, पाल्पा, सप्तरी, महोत्तरी, बारा, पर्सा, धनकुटा, इलाम, विजयपुर, मोरङ, सिन्धुली, उदयपुर, मकवानपुरमा पठाइएको थियो । उक्त पत्रमा ‘कान्छा युवराज मरेको’ उल्लेख छ । तर, छोरा मरेको सात दिनपछि माइतमा पठाएको पत्रमा विष परेको औषधि खुवाइएकोले छोरा मर्न गएको उल्लेख गरिएको छ । यो पत्र लेख्नुभन्दा एक दिनअघि नेपाल सरकारको तर्फबाट लाहोर, कलकत्ता तथा ल्हासास्थित नेपाल सरकारका वकिलहरूलाई लेखिएको पत्रमा भीमसेन थापाको सल्लाहले विष दिएको भन्ने बुझिएकोले पक्राउ परेको उल्लेख छ ।
राजकुमार देवेन्द्र मृत्युभन्दा अघि नै दरबारभित्र षड्यन्त्र सुरु भएको थियो । जेठी महारानी साम्राज्यलक्ष्मी देवीको आड भरोसामा दरबारभित्र पाँडेहरूको आवतजावत थियो । उनीहरूले भीमसेन थापाको विरोधमा अनेक कुरा सुनाउँथे । त्यसैबेला रणजङ्ग पाँडेले चीनका बादशाहकहाँ पठाएको गुप्त पत्रमा ‘भीमसेन थापा चीनविरोधी र अङ्ग्रेज समर्थक भनी जेठी महारानी, पाँडेहरू र ब्रिटिश रेजिडेन्ट गिराउने षड्यन्त्र रचे । यसरी विरोधीहरूले घटनाक्रमसँगै एकपछि अर्काे बनौटी कुरा गरेर भीमसेन थापाको अवसान गर्ने खाडल खने । विष प्रयोग गरेर मारेको अभियोगमा समातिएर थुनिएपछि, सर्वश्वहरण गरेर बन्दी बनाइएपछि आत्महत्या गरियो भनी भ्रम फैलाइयो । भीमसेन थापाले त्यो आरोप इन्कार गरे । अन्तमा, अपराध साबित भएन । शक्ति र विश्वास अँगालेर चिनाउने शासक, प्रतिभाशाली व्यक्तित्व एवम् इज्जत भएको व्यक्तिले कसरी खुट्टामा घोप्टेर माफी माग्न सक्छन् ? स्वास्नीलाई नाङ्गै डुलाउने भन्ने आधारमा आफ्नो आत्म सम्मानको ख्याल नगरी कसरी आत्महत्या गर्ला ? यस्तै प्रसङ्गहरू पुस्तकमा वर्णित छन् ।
१८७१ (सन् १८१४) मा नेपाल ब्रिटिशबिच युद्ध भयो । अङ्ग्रेजसँगको युद्धमा नेपाल विजयी भएन । ब्रिटिश कम्पनी सरकारले नेपालको सम्पूर्ण तराई क्षेत्रमा अधिकार हुनुपर्ने सर्त राख्यो । वार्ता निष्कर्षमा टुङ्गिएन । पछि सन्धि भयो । तराईको भू–भाग फेरि नेपालकै हुने भयो । पछि कोसी र गण्डकीको बिचको भू–भाग र अरू केही क्षेत्रमात्र आफूसँग राखी त्यसको सट्टा २ लाख रूपैयाँ नेपाल सरकारलाई दिने सर्त राखी सन्धि भयो । सन्धि पछि नेपाल र ब्रिटिश भारतबिच चलेको युद्ध बन्द भयो । नेपाललाई अङ्ग्रेजको उपनिवेश बनाउने सपना पूरा भएन । जनरल पदवी र कमान्डर इनचिफको पदवी पाएका भीमसेन थापाको नेपाली जनतामाझ मात्र होइन चीन र भारतमा पनि प्रशंसा भयो । एक देशभक्त नायकलाई षड्यन्त्रकारीहरू के कस्ता षड्यन्त्र गरेर फसाउन चाहन्छन् भन्ने कुरा भीमसेन थापामाथि गरिएको षड्यन्त्र र झूटो प्रचारबाजीबाट प्रस्ट हुन्छ । यी कुरा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ पुस्तकमा उल्लेख छ । नेमकिपालाई समूल नष्ट गराउन पनि नेमकिपामाथि राज्यस्तरबाट षड्यन्त्र रचिएको थियो । त्यो असफल षड्यन्त्रको कारण पञ्चायती व्यवस्था बदनाम भयो र अन्ततः पञ्चायती व्यवस्था अन्त्य भयो । संसारका मजदुर आन्दोलनहरूमा पनि षड्यन्त्र गरेर मजदुर नेताहरूको हत्या गरेर मजदुर आन्दोलन बिथोल्ने प्रयासहरू विभिन्न देशमा भएका थिए ।
अतः चित्तरञ्जन नेपालीको यो पुस्तक हेर्नैपर्ने देखिन्छ । यो पुस्तकको अध्ययनले नेपाली जनतामा छरेको धेरै भ्रम हटाउनेछ । पुस्तकको प्रकाशक रत्नपुस्तक भण्डार र लेखकप्रति साधुवाद !